अन्तर्राष्ट्रिय उडानमा ‘डिपार्चर’ कर बढाउने जापानको तयारी

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले अन्तर्राष्ट्रिय यात्रुबाट लिइने प्रस्थान कर (डिपार्चर ट्याक्स) बढाउने प्रस्ताव गरेको छ ।

सन् २०१९ मा प्रतिव्यक्ति १ हजार येन अर्थात ७ डलर बनाइएको यो कर अब करिब ३ हजार येन बनाउने तयारी भएको हो ।

बढ्दो अन्तर्राष्ट्रिय पर्यटकको चापबाट उत्पन्न चुनौतीहरू सम्बोधन गर्न राजस्व बढाउन प्रस्ताव गरिएको हो । जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री बन्नुअघि नै यसबारे छलफल गरेकी थिइन् ।

यो वृद्धिबाट उठेको रकम मुख्य रूपमा ओभरटुरिजम अर्थात् अधिक पर्यटकले गर्दा हुने समस्याको सामना गर्न, विमानस्थलको पूर्वाधार सुधार गर्न र पर्यटन प्रवद्र्धनका लागि राजस्व बढाउनका लागि खर्च गरिनेछ ।

आर्थिक वर्ष २०२६ बाट यो कर लागू हुने अपेक्षा छ । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को पर्यटन सम्बन्धी प्यानलले यो प्रस्ताव गरेको हो ।

यो कर सबै अन्तर्राष्ट्रिय यात्रुहरूलाई लागू हुनेछ । जापानबाट विदेश जाने स्वदेशी नागरिक र विदेशी पर्यटक दुवैका लागि लागू हुनेछ । यो कर विमानको भाडामा जोडेर लिइनेछ ।

यसबाहेक भिसा शुल्क र पूर्वप्रवेश स्क्रिनिङ शुल्क पनि बढाउने योजना छ । यसबाट विदेशी पर्यटकहरूलाई बढी प्रभावित पार्नेछ ।

जापानमा २०२४ मा मात्र ३६.८ मिलियनभन्दा बढी विदेशी पर्यटक आएका थिए । जसले राजस्व बढाए पनि पूर्वाधारमा दबाब बढाएको छ ।

मार्चसम्मको आर्थिक वर्ष २०२४ मा मात्र प्रस्थान करबाट रेकर्ड ५२.५ बिलियन येन राजस्व प्राप्त भएको थियो । यो राजस्व पर्यटनलाई ‘तनावमुक्त’ बनाउन र सांस्कृतिक सम्पदाको संरक्षणमा प्रयोग हुनेछ ।

यो प्रस्तावबाट पर्यटनलाई प्रभावित नपार्न सावधानी अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?