
हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको मुख्य दिन आज भाइटीका लगाएर मनाइँदैछ ।
आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र आस्थाका सप्तरंगी टीका र कहिल्यै नओइलाउने मखमली माला लगाइदिएर दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।
दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर गक्षअनुसारको दक्षिणा, उपहार आदि दिने प्रचलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । तर आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिले जनाएको छ ।
तिहार पाँच दिनको हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण छैटौं दिनमा भाइटीका परेको छ ।
तिहारको भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ । यसदिन भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई सम्मुख वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गर्नु पर्दछ ।
त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिने गर्दछन् । अनि मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिएर आशीर्वाद दिन्छन् ।







