
हमासको नियन्त्रणमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनार भुजेलाघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्यष्टिका क्रममा भुजेलाघाटमा विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरील सलामी अर्पण गरेको थियो ।
उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याएर साँझ कञ्चनपुर लगिएको थियो । काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित घर पुर्याइएको थियो ।
विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए । मंगलबार विपिनको अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत पनि सहभागी भएका थिए ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशी त्यहाँ पुगेको एक महिनामै हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका थिए ।
हमास लडाकुहरु गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी सन् २०२३ को अक्टुबर ७ मा आक्रमण गरेका थिए । जुन आक्रमणमा १० नेपाली विद्यार्थीको त्यसबेलै मृत्यु भएको थियो भने विपिन अपहरणमा परेका थिए ।
दुई वर्षसम्म अवस्था अज्ञात रहेका उनी इजरायल र हमासबीच युद्धविराम भएसँगै रिहा हुने आशा थियो । तर हमासले उनको शव मात्रै फिर्ता गरेको हो । इजरायली सेनाले विपिनको सन् २०२३ मै हत्या गरेको पुष्टि भएको सूचना इजरायलस्थित नेपाली दूतावासलाई दिएको थियो ।
इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ ।







