
जापानमा एकीकृत नेपाली घर: बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउन सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
गैरआवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा आगामी नोभेम्बर ८ देखि १५ तारिखसम्म टोकियोको शिन्ज्युकुमा सप्ताहव्यापी ज्ञान महायज्ञ आयोजना गर्न लागिएको एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जानकारी दिए ।
ज्ञान महायज्ञका लागि नेपालबाट वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछे जापान आउने निश्चित भइसकेको अध्यक्ष लामिछानेले बताए ।
जापानमा नेपालीहरुबीचको एकता, भाइचारा र एकअर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउँदैं आध्यात्मिक चिन्तनको उजागर गर्न र गराउन महायज्ञ कार्यक्रमको आयोजना गरिएको हो ।
अध्यक्ष लामिछानेजा अनुसार एकीकृत नेपाली घर निर्माणका लागि स्रोत जुटाउने महायज्ञको मुलभूत उद्देश्य भएता पनि नेपालीहरुबीच मेलमिलाप, शान्ति र सकारात्मक भाव जगाउँदै पून्यकर्ममा सरिक गराउने समेत उद्देश्य रहेको उनको भनाई छ ।
एकीकृत नेपाली घरको परिकल्पना गरी उक्त कार्यको सुरुवात समेत गरेका एनआरएनए जापानका निवर्तमान अध्यक्ष नविन निउरेले करिब ३ करोड येन बराबरको जमिन चिवा केनमा खरिद गर्ने काम सम्पन्न भईसकेको जानकारी दिँदै महायज्ञ सफलतापूर्वक सम्पन्न गर्न जापानका सबै संघसंस्थाहरुको साथ, सहयोग र सहकार्य रहने अपेक्षा गरिएको बताए ।
महायज्ञले नेपाली कला संस्कृतिलाई जापानमा प्रवद्र्धन गर्न र अर्को पुस्तालाई हाम्रो पूर्वीय दर्शन पुस्तान्तरण गर्न एक महत्वपूर्ण कदम हुने विश्वास आफूले लिएको वाचन प्रवीण दिनबन्धु पोखरेलको भनाई छ ।
वाचन प्रवीण पोखरेलले नेपालको कला संस्कृतिलाई जापानमा लागेर मिनी नेपाल निर्माण गर्ने पवित्र उद्देश्यले टोकियोमा हुने ऐतिहासिक टोकियो सप्ताहमा उपस्थित भई जीवन र जगतको बारेमा ज्ञान हासिल गर्न, आफ्नो मातृभूमिको सम्मान, पूर्वजहरुको विरासत कायम गर्नका निमित्त जापानवासी सबै भक्तजनलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् ।
अर्का बौद्ध धर्मगुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले नेपालीहरूका बिचमा सामाजिक सद्भाव विकासका लागि यस महायज्ञ टोकियो सप्ताह एक कोशेढुंगा हुने विश्वास व्यक्त गरे । उनले यस पवित्र उद्देश्यले आयोजना गरिएको धार्मिक कार्यक्रममा उपस्थितका लागि सम्पूर्ण जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध समेत गरेका छन् ।
सामाजिक व्यक्तित्व तथा एनआरएन आईसीसी उपाध्यक्ष रोविन शेरचनले डायस्पोरामा ठूलो बन्दै गइरहेको नेपाली समाजलाई एकताको सुत्रमा आबद्ध गर्दै नेपाली कला, संस्कृति, भेषभुषा एवं मौलिक परम्परालाई अक्षुण राख्न एकीकृत नेपाली घरको अवधारणा अगाडि सारिएकोले यो अभियानमा जोडिन जापानबासी नेपालीहरुमा अपिल गरे ।
एनआरएन अभियन्ता एसिया महिला संयोजक अनिता गुरुङले शान्ति, सत्कर्म र सकारात्मक भाव उजागर गर्दै एक पुस्ताबाट अर्को पुस्ताबीचको अन्तरसम्बन्ध सुमधुर बनाउन पनि आध्यात्मिक ज्ञान आवश्यक रहेको बताइन् ।
सप्ताहव्यापी ज्ञान महायज्ञ ‘शान्तिका लागि कलशयात्रा’ बाट सुरु गरिने छ भने हरेक दिन पूजा पाठ, प्रवचन, भजनकीर्तन र प्रसाद ग्रहण–वितरण गरिने एनआरएन स्रोतले जनाएको छ ।
महायज्ञलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले परिणाममुखी बनाउन विभिन्न उपसमितिहरुमार्फत कार्यविभाजन गरी तयारीलाई तीव्र पारिएको छ भने जापानका सरोकारवाला एवं सम्बन्धित निकायहरुबाट लिनुपर्ने इजाजत र पूर्व अनुमतिका लागि आवश्यक प्रक्रियाहरु भइरहेको बताइएको छ ।







