
गाजाको विद्रोही समूह हमासको नियन्त्रणमै रहेका बेला ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल ल्याइँदैछ ।
आइतबार नै इजरायलको बेन गुरियन विमानस्थलमा श्रद्धान्जली सभा गरी बिदाई गरिएको विपिनको शव दिउँसो २ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताइएको छ ।
काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दिउँसो २ बजेपछि त्रिभूवन विमानस्थलमा विपिनको शव आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै पुगेर श्रद्धान्जली दिने कार्यक्रम रहेको छ ।
त्यसपछि नेपाली सेनाको संयोजनमा जोशीको घर कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–३ विचपुरी माल्लिकार्जुन टोलमा शव लैजानेछ ।
विपिनको सकुशल रिहाईका लागि पहल गर्न अमेरिका पुगेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा नेपाल फर्केपछि इजरायलबाट शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको थियो ।
सोमबार उनको शव कञ्चनपुर पुगेपछि मंगलबार महाकाली नदी किनारामा अन्तिम संस्कार गरिनेछ ।
इजरायली सेनाले विपिन जोशीको मृत्युबारे उनकी बहिनी पुष्पा र ठूलोबुवाका छोरा किशोर जोशीसँगै नेपाली राजदूत धनप्रसाद पण्डितलाई सामूहिक कलमार्फत् एक साताअघि जानकारी दिएको थियो ।
इजरायल पुगेको तीन साता नबित्दै सन् २०२३ को अक्टोबर ७ मा हमासको भीषण हमलाका क्रममा बन्धक बनाइएका विपिन जोशीको भिडिओ सार्वजनिक भएपछि उनी जीवितै रहेको आशा गरिएको थियो ।
तर उनको भिडियो पुरानो भएको र अपहरणमा परेको एक महिनाभित्रै उनको हत्या भएको अनुमान गरिएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको त्यसैबेला मृत्यु भएको थियो ।






