ताकाईचीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिमा जापानका विपक्षी दल

जापानका विपक्षी दलहरु सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नवनिर्वाचित अध्यक्ष सानाए ताकाइचीलाई प्रधानमन्त्री बन्नबाट रोक्ने योजनामा विपक्षी दलहरु एकजुट हुने भएका छन् ।

संसदले नयाँ प्रधानमन्त्री चयन गर्ने दिन नजिकिदै गर्दा विपक्षी दलहरु तीव्र छलफलमा जुटेका हुन् ।

सबैभन्दा ठूलो विपक्षी पार्टी कन्स्टिच्युसन डेमोक्रेटिक पार्टीका नेता योशिहिको नोदाले डेमोक्रेटिक पार्टी फर द पिपल (डीपीपी) र जापान इनोभेसन पार्टी (जेआईपी) सँग मिलेर प्रधानमन्त्रीको उम्मेदवार दिनेगरी तयारी गरेका छन् ।

सत्ता साझेदार कोमेइतो पार्टी समेत गठबन्धनबाट बाहिरिएपछि जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा रहेकी ताकाइचीलाई झट्का लागेको छ । योसँगै एलडीपीले संसदमा बहुमत गुमाएको छ । ताकाइचीले पछिल्ला घटनाक्रमले प्रधानमन्त्री बन्ने सम्भावना कम देखिएको बताएकी छन् ।

उनले कठिन परिस्थितिमा पनि हार नमान्ने र प्रधानमन्त्री चयन प्रक्रियासम्म सबै प्रयास गर्ने दृढता व्यक्त गरेकी छिन् ।

जापानको सरकारले यही २१ अक्टोबरमा संसदको विशेष अधिवेशन बोलाउने तयारी गरेको छ । यो अधिवेशनमा राजीनामा दिएका प्रधानमन्त्री शिगेरु इशिबाको उत्तराधिकारीको रूपमा नयाँ प्रधानमन्त्री चयन गरिनेछ ।

हालसम्म सबैभन्दा ठूलो दल लिबरल डेमोक्रेटिक पार्टीकी नयाँ अध्यक्ष सानाए ताकाइची प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । यद्यपि, विपक्षी दलहरूले संयुक्त उम्मेदवार उठाएमा चुनावी नतिजा अनिश्चित बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?