
दुई वर्षअघि ७ अक्टोबर, २०२३ मा गाजाको लडाकू समूह हमासले आक्रमण गरी बन्धक बनाएका विपिन जोशी जीवित नरहेको जानकारी इजरायली अधिकारीले दिएका छन् ।
उनीहरुले इजरायलस्थित नेपाली राजदूत र परिवारका सदस्यलाई सम्पर्क गरेर उनी जीवित नरहेको र शवका बारेमा पनि यकिन जानकारी नरहेको जानकारी गराएका हुन् ।
इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र इजरायली सेनाका कमाण्डरले अमेरिकामा रहेका आमा र बहिनी तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई समेत जोडेर टेलिफोनमा हमासले छाड्न लागेका २० जनाको सूचीमा विपिन नरहेको औपचारिक जानकारी दिएका हुन् ।
हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो । उनी अपहरणको केही समयसम्म जीवित रहेको पाइएको छ । उनी सोही वर्षको मंसिरसम्म जीवित रहेको भिडियो सार्वजनिक भएको थियो ।







