आज विजया दशमी, टीकाको उत्तम साइत कतिबेला ?

बडादसैंको दशौं दिन आज विजयादशमी पर्व मनाइँदैछ । घटस्थापनाका दिन जमरा राखी महानवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाउने गरिन्छ ।

आज बिहान देवी विसर्जन गरेपछि ११ बजेर ५३ मिनेटमा टीकाको शुभसाइत रहेको छ । टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा भए पनि विजयादशमीका दिन दिनभरि नै टीका लगाउन शुभ हुने समितिको भनाई छ ।

नेपालमा टीकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा छ भने जापानमा टीकाको उत्तम साइत ११ बजेर ३१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आरधना गरेर देवी विसर्जन गरिन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहँेलो जमरा नै प्रयोग गरिन्छ ।

आजको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने र मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका र आशिर्वाद लिने गरिन्छ ।

दसैंमा टीका लगाउँदा संस्कृतका ऋचा उच्चारण गर्दै आशिर्वाद दिइन्छ । चार हरफको ऋचाले गहिरो अर्थ बोकेको छ । यसले विभिन्न पौराणिक पात्रलाई आदर्शका रुपमा उल्लेख गर्दै जीवनलाई सुन्दर बनाउने सूत्र दिएको छ ।
बडादसैंको टीका लगाउँदा मान्यजनले
आयूद्रोणसुते श्रीयम् दशरथे शत्रुक्षयम् राघवे
ऐश्वर्यम् नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
दानम् सूर्यसुते बलम् हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानम् विदुरे भवन्तु भवताम् कीर्तिश्च नारायणे

भन्दै आशिर्वाद दिने चलन छ ।
यो मन्त्र विशेषगरी पुरूषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ भने महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते
भन्ने मन्त्र उच्चारण गरिन्छ ।

विजया दशमीका दिन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने चलन छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैंको सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरू गरिएको धार्मिक विश्वास छ ।

त्यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरू, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?