आज बडादसैंको सातौं दिन घरघरमा फुलपाती भित्र्याइँदै

नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैंको सातौं दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती विधिपूर्वक फुलपाती भित्र्याइँदै छ । आजका दिन नौ दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ र त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने जनविश्वास रहिआएको छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । राजधानी र राजधानीका बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

बडादशैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गर्दैछ । फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । सो कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ ।

आजै गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइँदै छ ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गोरखा दरबारको दसैं घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दशैंघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?