साहसको प्रतीक कात्यायनी देवीको पूजाआरधना गरिँदै

हिन्दूहरुको सबैभन्दा ठूलो पर्व बडादसैंको छैटौं दिन आज शक्ति स्वरुपा कात्यायनीदेवीको पूजा–आराधना गरी मनाइँदैछ ।

माता दुर्गाले कात्यायनीको रुपधारण गरेर महिषासुरको वध गरेको जनविश्वास छ । त्यसैले कात्यायनी देवीलाई साहसको प्रतीक समेत मानिन्छ ।

ऋषि कात्यायनकी पुत्री भएकाले उनलाई कात्यायनी देवी नाम दिइएको हो । यी देवी पार्वतीको सबैभन्दा उग्ररुप मानिन्छ । देवी कात्यायनीले बायाँ हातमा कमलको फूल र तरबार तथा दायाँ हात अभयमुद्रा र वरद मुद्रामा छन् । उनलाई विशेषगरी गुलाफको रातो फूल मनपर्ने विश्वास गरिन्छ ।

यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसबाट हुने बिध्न–बाधा रोक्न देवी कात्यायनीको यो लोकमा आगमन भएको धार्मिक विश्वास छ ।

कात्यायनी देवीको पूजा गर्ने भक्तलाई धनधान्य, धर्म र मोक्षको प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । यतिमात्रै होइन कसैको वैवाहिक जीवनमा समस्या आइरहेको छ भने कात्यायनी देवीको पूजा गर्दा समाधान हुने तथा अविवाहितहरुले पूजाआरधना गरेमा योग्य वर प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

कात्यायनी देवीको पूराआरधना गरेर जीवनमा सुख र समृद्धि प्राप्त गर्न सकिन्छ । कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक पनि मान्ने गरिन्छ ।

कात्यायनी देवीलाई सकारात्मक क्रोधको प्रतीक पनि मानिन्छ । जसले सबै प्रकारको नकारात्मकतालाई समाप्त गरेर सकारात्मक ऊर्जाको सञ्चार गर्दछ भन्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?