
हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड बडादसैंको चौथो दिन आज दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
कुष्माण्डा एक संस्कृत शब्द हो । जसको अर्थ कुम्हडा अर्थात कद्दु हो । कुष्माण्डा देवीलाई कद्दुको बलि प्रिय लाग्ने जनविश्वास रहिआएको छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई कुष्मा भनिन्छ ।
नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नाम रहन गएको जनविश्वास पाइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
यो दिनमा पूजामा बस्न हरियो रंगको आसन राम्रो मानिन्छ भने देवीलाई रातो वस्त्र, रातो फूल चढाउनुपर्छ । ब्रम्हाण्डका सबै वस्तु र प्राणीमा रहेको तेज यिनकै छाया भएको विश्वास गरिन्छ ।
कुष्माण्डा देवीका आठ भूजा हुने भएकाले यी देवीलाई अष्टभुजा देवीका नामले समेत चिनिन्छ । यिनका ७ हातमा कमण्डलु, धनुष, वाण, कमल–पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा हुन्छ भने आठौं हातमा जपमाला हुन्छ । यी देवीको बाहन सिंह हो ।
नवरात्रको चौथो दिन कुष्माण्डालाई मालपुवाको प्रसाद अर्पित गर्नाले सुख–समृद्धि आउने र कन्याले रंगी बिरंगी रिबन वा वस्त्र दान गरेमा धनमा वृद्धि हुने शास्त्रीय मान्यता छ ।







