
हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व बडादसैं आजबाट सुरु भएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरी पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गर्ने गरिन्छ ।
नदी वा चोखो स्थानबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि मकै वा जौ रोपेर जमरा राख्ने गरिन्छ ।
आजका दिन राखिएको जमरा माता दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने प्रचलन छ ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा देवी दुर्गाको पूजा आराधना गरिने भएकाले यो दिनलाई घटस्थापना भनिएको हो । घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गाको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
दुर्गा पक्षको पहिलो दिन शैलपुत्री देवीको पूजा गर्ने गरिन्छ । माता शैलपुत्री हिमालयकी छोरी हुन् । शैल भन्नाले अडिग र दृढताकी प्रतीक मानिन्छ । शैलपुत्रीलाई वृषोरुपा, सती, हेमवती, उमाका नामले समेत चिनिन्छ । घोर तपस्या गर्ने माता शैलपुत्री पशुपन्छी, जीवकी रक्षक समेत मानिन्छिन् ।
माता शैलपुत्री सेतो वस्त्र धारण गरेर साँढेमाथि चढेकी हुन्छिन् । दाहिने हातमा त्रिशूल, देब्रे हातमा कमल, निधारमा अर्धचन्द्राकार चन्द्र भएकी शैलपुत्रीलाई स्नेह, करुणा, धैर्य र इच्छाशक्तिकी प्रतीक मानिन्छ ।
शैलपुत्रीको पूजा गर्दा सेतो रंगको वस्तुको प्रयोग गर्नुपर्छ । किनकि शैलपुत्रीको प्रिय रङ सेतो हो । पूर्व या उत्तर दिशा फर्किएर पूजा गर्ने स्थानमा रातो कपडा बिच्छ्याएर दुर्गाको तस्बिर स्थापित गरी सेतो चन्दन, हल्दी, अक्षता, सिन्दुर, पान सुपारीले पूजा गर्नुपर्छ ।







