कुलमान पनि बदलाकै बाटोमा, हितेन्द्र हटाएर सिलवाल ल्याए

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदबाट हटाएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाँच महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । कुलमान मन्त्री भएसँगै उनी पनि पुरानै दलीय प्रणालीमा जसरी बदलाको भावनाले काम गरेको टिप्पणी भइरहेको छ ।

कार्यकारी निर्देशकबाट हटाउने निर्णयपछि घिसिङ सर्वोच्च गए पनि उनको पक्षमा अन्तरिम आदेश दिएको थिएन । जेनजी आन्दोलनको बलमा ओली सरकार ढलेसँगै प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमा कुलमानले ऊर्जा मन्त्रालय सम्हाल्ने अवसर पाए ।

यस क्रममा उनले विगतको तित्तता भुलेर उदारतापूर्वक काम गर्ने अवसर पनि थियो । तर उनले शाक्यलाई हटाउने चर्चा केही दिनदेखि चलिरहेको थियो । कुलमान र हितेन्द्रबीच व्यक्तिगत रुपमै सम्बन्ध नराम्रो रहेको संकेत कुलमान मन्त्री नियुक्त भएकै दिन देखिएको थियो ।

घिसिङले मन्त्रीको शपथ लिएर ऊर्जा मन्त्रालयमा पदभारका लागि आउँदा हितेन्द्र शाक्य उपस्थित समेत भएनन् ।

मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालयमातहतका विभाग र संस्थाका प्रमुखहरू समेत मन्त्रीको पदभार ग्रहणमा सहभागी हुने प्रचलन रहे पनि शाक्य अनुपस्थित भए । शाक्यले घिसिङको पदभार ग्रहण नै बहिष्कार गरेका शाक्यले भोलिपल्ट फेसबुकमार्फत बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?