नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन सुरु, ढुंगा झर्ने क्रम रोकिएन

नारायणगढ–मुग्लिन सडकखण्डमा रहेको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आइतबार बिहानैदेखि सुरु गरिएको छ । यसअघि शनिबार दिनभरी पहिरो पन्छाउने काम गरिए पनि बाटो खुलाउन सम्भव भएको थिएन ।

आइतबार बिहानैदेखि दुवै तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू गरिएको हो । यद्यपि अझै पनि सो स्थानमा माथिबाट ढुंगा झर्ने क्रम रोकिएको छैन ।

पहिरो झर्ने क्रम रोकिएमा छिटोभन्दा छिटो पहिरो पन्छाएर सवारी आवागमन सञ्चालनमा ल्याउन सकिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला पुल नजिक शुक्रबारदेखि निरन्तर पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध छ भने हजारौं यात्रु बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूलाई शनिबार दिउँसो र बेलुका खाना र पानीको व्यवस्थापन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?