
जेनजी युवाको प्रदर्शनका क्रममा मृत्यु भएकाको सम्मानमा सरकारले आज बुधबार देशभर शोक बिदा दिएको छ ।
भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल खुलाको माग गर्दै गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशभर तीन दर्जनभन्दा बढी युवा र विद्यार्थीको मृत्यु भएको छ ।
आन्दोलनका क्रममा जेल तोडेर भाग्न खोज्नेदेखि भाटभटेनीमा आगजनीका क्रममा समेत मृत्यु भएकाको संख्या जोड्ने हो भने ७३ जनाले ज्यान गुमाएका छन् ।
यो आन्दोलनमा मारिनेहरुको सम्ममानमा असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक विदा दिने निर्णय ३० भदौको अन्तरिम मन्त्रिपरिषदको बैठकले गरेको थियो ।

सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिइएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । काठमाडौं बाहिरका मृतकको भने नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुकै जिल्लामा पुर्याएर अन्त्येष्टि गरिएको थियो ।







