
प्रधानमन्त्रीमा पदबहाली गरेकै दिन प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ समूहले बालुवाटार अगाडि नाराबाजी गरेको छ ।
आइतबार साँझ तीन जना मन्त्री छनोट गरेको विषय बाहिर आएलगत्तै यो समूहले मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै बालुवाटारमा नाराबाजी गरेका हुन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले सबैभन्दा शक्तिशाली नेपाली जनता भएको भन्दै कार्कीलाई जहाँ लगेर राखेको छ, त्यहाँबाट थुतेर निकालिदिने धम्की समेत दिएका छन् ।
गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहकै प्रस्तावमा कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनले आइतबार पदभार ग्रहणपछि साँझ तीन जना मन्त्री नियुक्त गरेको समाचार बाहिर आएको थियो ।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार बाहिर आएको थियो ।
तर गुरुङ समूहले मन्त्री नियुक्तिमा आफूहरुसँग सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएको हो । बालुवाटारमा नाराबाजी भएपछि सुरक्षा तैनाथी बढाइएको थियो ।







