
अमेरिकी रक्षा मन्त्रालयले जापानमा तैनाथ सैनिकहरूले हिंसात्मक अपराधहरू रोक्ने नीतिहरूको पालना कसरी गरिरहेका छन् भन्ने समीक्षा सुरु गरेको छ ।
जापानमा तैनाथ अमेरिकी सेना गम्भीर यौन दुर्व्यवहारका घटनामा समेत संलग्न रहेको आरोपबीच रक्षा मन्त्रालयले समीक्षा सुरु गरेको हो ।
सहायक महानिरीक्षक रान्डोल्फ स्टोनको नेतृत्वमा हुने यो अनुसन्धानका क्रममा उनीहरुको कार्यक्षमता, तालिम र जापानी नागरिकमाथि हिंसात्मक आपराधिक कार्यमा संलग्नताको इतिहास खोजिनेछ ।
जापानको दक्षिणी प्रान्त ओकिनावामा अमेरिकी सैनिकले अत्याचार गरेको आरोप लाग्ने गरेको छ । यो क्षेत्रमा अमेरिकी सैनिक यौन अपराधमा समेत संलग्न हुने गरेका घटनाले सेनाविरुद्ध जनताको चर्को असन्तुष्टि छ ।
गत जुनमा ओकिनावाको नाहा जिल्ला अदालतले जामेल क्लेटनलाई मे २०२४ मा भएको यौन दुर्व्यवहारको घटनामा सात वर्षको जेल सजाय सुनाएको थियो ।
उनले भने आफू निर्दोष रहेको दाबीसहित उच्च अदालतमा अपिल गरेका छन् । जापानमा रहेका अमेरिकी सैनिकका सबै क्याम्पहरुमा उनीहरुका क्रियाकलापबारे अनुगमन र समीक्षा गरिनेछ ।







