सुजन पन्त एनआरएनए जापानमा कार्यालय सचिव नियुक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले सुजन पन्तलाई कार्यालय सचिवमा नियुक्त गरेको छ ।

आफ्नो घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता अनुसार नियमित र व्यवस्थित रुपमा सेवा प्रवाह गर्नका लागि कार्यालय सचिव नियुक्त गरिएको हो ।

संघले टोकियोको शिन–ओकुबोस्थित कार्यालयमा नियमित रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले दक्ष र अनुभवी पन्तलाई कार्यालय सचिवमा नियुक्त गरेको जानकारी गराएको छ ।

पन्तले हरेक सोमबारदेखि शुक्रबारसम्म बिहान १० देखि बेलुका ५ बजेसम्म नियमित रुपमा कार्यालयमा उपस्थित भएर सेवा दिनेछन् ।

अब जापानभर रहेका नेपालीहरुले एनआरएनए जापानसँग सम्बन्धित विविध जानकारी, कानुनी तथा दूतावास समन्वयका आवश्यकता, दैनिक जीवनसँग जोडिएका समस्याहरु तथा अन्य परामर्शका लागि कार्यालयमै आएर वा फोन र म्यासेजमार्फत प्रत्यक्ष रूपमा जानकारी लिन सक्नेछन् ।

एनआरएनए जापानले यसका लागि हटलाइन नम्बर ०८०–६३५२–८२८६ सार्वजनिक गरेको छ । यदि फोन व्यस्त भएमा वा कार्यालय समय बाहिर परेमा, सोही नम्बरमा भाइबरमार्फत म्यासेज गरेर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ । साथै, संघको आधिकारिक फेसबुक पेजमार्फत पनि जानकारी र सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

कार्यालय सचिव राखेपछि जापानवासी नेपालीहरुका दैनिक समस्यामा सहजता ल्याउने, आवश्यक सहयोग र समन्वयमा तीव्रता ल्याउने र समुदायसँग प्रत्यक्ष संवाद गर्ने काममा सहयोग पुग्ने विश्वास एनआरएनए जापानले गरेको छ ।

संघले घोषणापत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा दृढ रहेको भन्दै पारदर्शिता, जवाफदेहिता र सेवामुखी कार्यक्रमहरूमा अझ सक्रियता ल्याउने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?