जापानमा सेप्टेम्बरदेखि १,४२२ प्रकारका खाद्य वस्तुको मूल्य बढ्ने

जापानमा आगामी सेप्टेम्बरबाट १ हजार ४२२ प्रकारका खाद्य तथा पेय पदार्थको मूल्य बढ्ने भएको छ ।

तेइकोकु टाडाबैंकले १९५ प्रमुख खाद्य कम्पनीहरूमा गरेको सर्वेक्षणअनुसार यी कम्पनीहरु सेप्टेम्बरदेखि मूल्य बढाउने योजनामा छन् । यदि त्यस्तो भएमा यो वर्षको लगातार नवौं महिनाको मूल्यवृद्धि हुनेछ ।

खाद्य वर्गअनुसार सबैभन्दा धेरै मूल्यवृद्धि मेयोनेज र सससहित ४२७ प्रकारका मसलाको मूल्यवृद्धि हुनेछ ।

त्यसपछि ३३८ प्रकारका प्रशोधित खाद्य पदार्थहरू, फ्रोजन फूड र माछाको पेस्ट उत्पादन तथा २९१ प्रकारका कन्फेक्शनरीमा मूल्य वृद्धि हुने डाटाबैंकले उल्लेख गरेको छ ।

कच्चा पदार्थको लागत बढ्नुका साथै लजिस्टिक्स, श्रम र प्याकेजिङ लागतका कारण मूल्यवृद्धि हुन लागेको हो ।

विशेषगरी क्युपीले घरायसी मेयोनेज र ड्रेसिङसहित ६६ वस्तुहरूको मूल्यवृद्धि घोषणा गरेको छ भने जे. ओइल मिल्सले क्यानोला तेलसहित सबै घरायसी तेल र सम्बन्धित उत्पादनमा मूल्यवृद्धि घोषणा गरेको छ ।

यसैगरी मोरिनागा एन्ड कम्पनीले मुख्य रूपमा कन्फेक्शनरी, जस्तै डार चकलेट ब्रान्डसहित ५४ वस्तुहरूको मूल्यवृद्धि घोषणा गरेको छ ।

जापानमा सन् २०२५ भित्रै २० हजारभन्दा बढी वस्तुको मूल्य वृद्धि भएको छ । जुन दुई वर्षमा पहिलो पटक यतिधेरै मूल्यवृद्धि देखिएको हो । तेइकोकु डाटाबैंकले भनेको छ, ‘जापानी येन कमजोर भएर नभई लागत र श्रमको मूल्य वृद्धिसँगै कम्पनीका उत्पादनहरुको समेत मूल्यवृद्धि भएको छ ।’

यसले खाद्य र पेय पदार्थहरूको मूल्यवृद्धि लामो समयसम्म र स्थायी रूपमा हुने सम्भावना रहेको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?