जापानको नियम, कानुनी र सुरक्षा सम्बन्धी गोष्ठी सम्पन्न

जापानको राजधानी टोकियोस्थित मेगुरो पर्सिमोन हलमा जापानको नियम, कानुनी र सुरक्षासम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।

नेपाली राजदूतावास टोकियो, टोकियो महानगर प्रहरी विभाग तथा एनआरएनए जापानको संयुक्त आयोजनामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।

जापानमा बसोबास गर्ने नेपाली समुदायलाई कानुनी व्यवस्था, सुरक्षा प्रणाली तथा सामाजिक मापदण्डबारे स्पष्ट र व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुलाई जापानको कानुनी संरचना, सुरक्षा प्रक्रिया, दैनिक जीवनमा पालना गर्नुपर्ने नियमकानुन, ठगी तथा गैरकानुनी कार्यबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी दिइएको थियो ।

यसका साथै आत्मसुरक्षासम्बन्धी आधारभूत प्राविधिक ज्ञानसमेत दिइएको थियो ।

सो अवसरमा नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले दूतावासमार्फत प्रदान गरिने सेवा सुविधामा ढिलाइ वा असुविधा भएमा सिधै आफूलाई जानकारी गराउन आग्रह गरे ।

उनले नेपाल–जापानबीचको मित्रता, आपसी सहयोग तथा सांस्कृतिक, सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तर आवश्यकता रहेकोमा जोड दिए ।

यसैगरी टोकियो महानगर प्रहरीका वरिष्ठ अधिकृतहरूले जापानमा सुरक्षित र व्यवस्थित जीवनयापनका लागि आवश्यक कानूनी प्रावधान, दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी तथा व्यावहारिक उपायहरूबारे विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, विशेषज्ञ समिति सदस्य जिज्ञान कुमार थापा र महिला सचिव ललिता तामाङले जापानमा रहेका नेपाली समुदायको हितमा यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी र समयानुकूल भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?