जापानको राजधानी टोकियो र नागोयामा कन्दरा ब्याण्डको लाइभ कन्सर्ट हुने भएको छ ।
टोकियोको क्लब सिट्टामा ४ सेप्टेम्बरमा र नागोयास्थित डाइमन्ड हलमा १० सेप्टेम्बरमा कन्सर्ट हुन लागेको हो ।
कन्दरा ब्याण्ड नेपाली संगीतमा ‘लोक–पप’ शैलीलाई स्थापित गराउने लोकप्रिय ब्याण्ड हो ।
‘पहिला घरदेश अनि परदेश’ नारासहित सुरु गरेको विश्वव्यापी यात्राअन्तर्गत जापानमा पनि कन्सर्ट हुन लागेको हो ।
सन् १९९२ मा पोखरामा स्थापना भएको कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’, ‘तिमी पारी’ जस्ता चर्चित, लोकप्रिय र सदाबहार गीत नेपालीका मनमुटुमा भिजेका छन् ।
ब्यान्डमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादल/पर्कसनमा अविनाश गायक र किबोर्डमा उमेश थापा रहेका छन् ।
‘पहिला घरदेश अनि परदेश’ नारासहित सुरु गरिएको विश्वव्यापी यात्राअन्तर्गत यसअघि ब्यान्डले बेलायत, दुबई, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकमा कार्यक्रमहरु गरिसकेको छ ।









