जापानको ओसाकामा भीषण आगलागी, दुई अग्नि नियन्त्रकको मृत्यु

जापानको ओसाकाको मिनामी जिल्लाको दोतोनबोरिगावा नदी किनारमा रहेको एउटा व्यापारिक भवनमा लागेको भीषण आगो निभाउने क्रममा दुई जना अग्निनियन्त्रकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

आगो निभाउने क्रममा भवनको छैटौं तलामा फसेर एक जना ५५ वर्षीय र अर्का २२ वर्षीय अग्नि नियन्त्रकको मृत्यु भएको हो ।

ओसाका म्युनिसिपल फायर डिपार्टमेन्टका अनुसार आगलागीमा परी ५५ वर्षीय ताकासी मोरी र २२ वर्षीय मिचुनारी नागातोमोको मृत्यु भएको हो ।

सोमबार बिहान करिब ९ः५० बजे प्रसिद्ध ग्लिको रनिङ म्यानको विज्ञापन साइन भएनजिकैको भवनमा आगो लागेको थियो ।

फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीका अनुसार सन् २०२३ को जुलाईमा होक्काइदोको इशिकारीमा गोदाममा भएको आगलागीमा एक जनाको मृत्यु भएपछिको यो पहिलो गम्भीर घटना हो ।

ओासाका प्रिफेक्चरल प्रहरी र अग्नि नियन्त्रण विभागले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ । मिनामी क्षेत्र जापानको आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिन्छ ।

५१ वटा फायर ट्रक र एक हेलिकप्टर परिचालन गरी करिब तीन घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?