
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा क्रियाशिल विभिन्न संघ–संस्थाका पदाधिकारी र प्रतिनिधिहरुसँग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ ।
‘संस्थागत एकता, समृद्धि र सम्भावना’ भन्ने मूल नारासहित टोकियोस्थित सोलमारी रेस्टुरेन्ट मुरा हल शिनओकुबोमा आयोजित कार्यक्रमको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले गरेका थिए ।
कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी, एनआरएनए अन्तरिम समिति अध्यक्ष महेश श्रेष्ठ र एनआरएनए आईसीसी उपाध्यक्ष रोबिन शेरचन लगायतले आफ्ना धाराणा राखेका थिए ।
सम्बोधनका क्रममा अतिथिहरूले एनआरएनए जापानले समुदायबीचको एकता, सहकार्य र संस्थागत समृद्धिलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भावी सम्भावनाबारे महत्वपूर्ण दृष्टिकोण राखेका थिए ।
त्यस्तै, जापानमा सक्रिय विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि आफ्ना धारणा राख्दै एनआरएनए जापानसँगको सहकार्य, भावी रणनीति र साझा यात्राबारे विस्तृत छलफल गरेका छन् ।
सहभागीहरूले साझा उद्देश्यका लागि संवाद, समन्वय र सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकता औल्याएका छन् ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले सबै अतिथि, सहभागी तथा सहयोगी संघ–संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै संस्थागत एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने दृढ प्रतिबद्धता व्यक्त गरे ।
एनआरएनए जापानले विभिन्न संघ–संस्थाको उत्साहजनक सहभागिता र गहन विचार, विमर्शबीच सम्पन्न यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले जापानस्थित नेपाली समुदायबीचको सम्बन्ध र सहकार्यलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेको छ ।







