
जापानका विभिन्न क्षेत्रमा भीषण गर्मीले जनजीवन प्रभावित भइरहेको छ । मौसम विज्ञान एजेन्सीका अनुसार क्युशुदेखि तोहोकुसम्म व्यापक क्षेत्रमा उच्च तापमान वृद्धि भएको छ ।
आइतबार साइतामा प्रिफेक्चरको हातोयामा नगरमा तापक्रम ३७.७ डिग्री मापन गरिएको थियो भने यामानाशी प्रिफेक्चरको ओत्सुकी शहरमा ३७.६ डिग्री, टोकियोको ओमेमा ३७.५ डिग्री र आइची प्रिफेक्चरको नागोयामा ३६.९ डिग्री सम्म तापक्रम पुगेको थियो ।
जापानमा अत्यधिक गर्मी बढेसँगै २६ वटा प्रिफेक्चरमा चेतावनी जारी गरिएको छ ।
यसैबीच न्युन चापीय क्षेत्रमा उत्पन्न वायुका कारण उत्तरी जापानमा भने वर्षा हुने अनुमान गरिएको छ ।
आइतबार तेशियोमा १२ घन्टामा १५४.५ मिलिमिटर बर्षा भएको थियो । मौसम अधिकारीहरुले बाढीपहिरो, तीव्र हावा र चट्याङ पर्ने सम्भावना रहेकाले ती क्षेत्रका मानिसलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।







