विदेशीका लागि जापानले ल्याउँदैछ नयाँ नियम, के हो ईएसडी प्रणाली ?

जापान सरकारले सन् २०२७ को अप्रिलदेखि लागू हुने गरी नयाँ इम्प्लोइमेन्ट फर स्किल डेभलपमेन्ट (Employment for Skill Development) प्रणाली ल्याउँदैछ ।

जापानले ल्याउने याे प्रणालीले हालको टेक्निकल इन्टर्न ट्रेनिङ प्रोग्राम (Technical Intern Training Program–TITP) लाई प्रतिस्थापन गर्नेछ । जुन लामो समयदेखि श्रम शोषणको माध्यम बनेको भन्दै आलोचना भइरहेको थियो ।

यो कार्यक्रमका मुख्य विशेषताहरू

–अदक्ष विदेशी कामदारहरूले तीन वर्षको तालिम लिनेछन्, जसले उनीहरूलाई Specified Skilled Worker (SSW) Type–1 भिसा प्राप्त गर्न योग्य बनाउँछ । यस्ता कामदारले जापानमा न्युनतम ५ वर्षसम्म काम गर्न अनुमति पाउँछन् ।

–कामदारहरूले एक वा दुई वर्षपछि रोजगारदाता परिवर्तन गर्न अर्थात् कम्पनी परिवर्तन गरेर अर्को कम्पनीमा काम गर्न सक्नेछन् । तर, त्यसका लागि जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गर्नुपर्छ।

–जापानी भाषा (JLPT N4 वा समकक्ष) मा दक्षता अनिवार्य हुनेछ, र रोजगारदाताले कम्तीमा १०० घण्टा जापानी भाषा तालिमको व्यवस्था गर्नुपर्नेछ ।

–ग्रामीण क्षेत्रमा श्रमिकको अभाव रहेकाले त्यसलाई पूरा गर्न कम्पनीहरूले सामान्यभन्दा तीन गुणा बढी प्रशिक्षार्थी राख्न पाउनेछन् । तर शहरी क्षेत्रमा कामदार स्थानान्तरणमा भने कडाइ गरिनेछ। एसएसडब्लु प्रोग्रामको विस्तार

–सन् २०२५ मा SSW प्रोग्राममा तीन नयाँ क्षेत्रहरू (logistics/warehouse management, linen supply, र resource recycling/waste treatment) जस्ता क्षाेत्र विस्तार गरिएका छन् । जसले कुल १९ क्षेत्रलाई समेट्नेछ।

एसएसडब्लु टाइप–१ : यसअन्तर्गत मध्यम-स्तरका सीप भएका कामदारहरू ५ वर्षसम्म बस्न सक्नेछन् । तर उनीहरूले जापानमा परिवार लैजान पाउनेछैनन् ।

एसएसडब्लु टाइप–२ : याे प्रकार अन्तर्गत उच्च सीप भएका कामदारहरू पर्छन् । उनीहरूले जापानमा दीर्घकालसम्म काम गर्न पाउने छन् भने परिवार समेत जापानमै लगेर स्थायी बसाेबास गर्ने बाटो समेत खुला हुनेछ ।

रोजगारदाताहरूलाई स्थानीय प्राधिकरणहरूसँग सहकार्य गर्न र कामदारहरूको आगमन वा रोजगारी समाप्त भएको ३० दिनभित्र रिपोर्ट गर्न अनिवार्य गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?