
जापानको दक्षिणपश्चिम क्षेत्रमा परेको भारी वर्षापछिको बाढीपहिरोमा परी २ जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् ।
बाढीपहिरोका कारण क्षति पुगेका फुकुओका र कुमामोतो प्रान्तमा खोज तथा उद्धार कार्य जारी छ । कुमामोतो क्षेत्रमा एक जना पुरुषको पहिरोमा परी मृत्यु भएको छ भने यात्सुशिरोमा एक महिला गाडीसहित सिंचाई नहरमा फेला परेकी हुन् ।
बाढी र पहिरोका कारण ती क्षेत्रमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरुलाई समेत समस्या भएको छ ।
जापान मौसम विभागले कुमामोतो क्षेत्रमा भारी वर्षाको चेतावनी जारी गरेको थियो । तर प्रशासनले पछि सामान्य चेतावनीमा झारेको छ ।
लगातारको बाढी र पहिरोका कारण जापानमा ४० हजार भन्दा बढी घरमा खानेपानीको आपूर्ति रोकिएको छ । वर्षासँगै आएको बाढीपहिरोले यातायात अवरुद्ध हुँदा गर्मी बिदामा घुम्न जाने धेरै यात्रुहरू प्रभावित भएका छन् ।
स्थानीय सरकारले यसलाई गम्भीर प्रकोप घोषणा गरेर केन्द्रीय सरकारसँग आर्थिक सहयोगको माग गर्ने तयारी गरेको छ । कुमामोतोका गभर्नर ताकाशी किमुराले प्रभावित क्षेत्रको निरीक्षण गर्दै यसलाई गम्भीर विपदको घोषणा गरेका हुन् ।







