जापानमा भीषण बाढीपहिरो, यातायात समेत प्रभावित

जापानमा लगातारको वर्षापछि आएको बाढीपहिरोले जनजीवन प्रभावित बनेको छ । कतिपय स्थानमा बाढीले सडक बगाएको छ भने केही बेपत्ता भएका छन् ।

फुकुओका प्रान्तमा भारी वर्षापछि आएको बाढीले दुई जनालाई बगाएको प्रहरीले जनाएको छ ।

सोमबार बिहानै करिब साढे ५ बजे फुकुओकाको फुकुचु सहरमा रहेको साइगो नदीमा बाढी आउँदा करिब ६० वर्षका एक पुरुष र एक महिला बगेर बेपत्ता भएका छन् ।

प्रहरी र दमकल विभागको टोलीले उनीहरूको खोजी गरिरहेको छ ।

यसैगरी क्युशु क्षेत्रमा भारी वर्षापछि बाढी आउनुका साथै ठाउँठाउँमा पहिरो खसेको छ । अधिकारीहरूले उच्चतम स्तरका आपतकालीन चेतावनीहरू जारी गर्दै जोखिमपूर्ण स्थानका मानिसहरुलाई सुरक्षित स्थानमा सारिरहेका छन् ।

कुमामोतोको खामिआमाकुसा क्षेत्रमा भीषण वर्षापछि आएको बाढी बस्तीमा समेत पसेको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले कुमामोतो प्रान्तको आमाकुसा सहरमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ । यो क्षेत्रका बासिन्दालाई अधिकतम सावधानी अपनाउन र जोखिमपूर्ण स्थानबाट नबस्न सल्लाह दिइएको छ ।

लगातारको वर्षापछि कागोशिमा प्रान्तको ऐरा शहरमा पहिरोले एक घर भत्काउँदा पुरिएका दुई जनालाई उद्दार गरी अस्पताल लगिएको छ ।

बाढी पहिरोका कारण ट्रेन तथा बस सेवा अवरुद्ध भएको भने कतिपय उडान समेत रद्द गरिएका छन् । जसका कारण आवतजावतमा समेत समस्या भएको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाले बाढीपहिरो प्रभावितका लागि तत्काल राहत र उद्दार अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?