
जापान सरकारले विदेशी नागरिकहरुका लागि ड्राइभिङ लाइन्सेन्स सम्बन्धी नियम कडा बनाउने भएको छ ।
जापानले विदेशीका लागि कडा नियम राखेर चालक अनुमति प्रणालीमा परिवर्तन गर्न लागेको हो । यो नयाँ नियम आगामी १ अक्टोबरबाट लागू हुनेछ । विगतको तुलनामा विदेशीहरुले चलाएका सवारी साधनको दुर्घटनादर बढेसँगै लाइसेन्समा कडाई गर्न लागेको हो ।
जापान प्रहरीको तथ्यांक अनुसार यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा विदेशी चालकहरूबाट भएको घातक वा गम्भीर चोटपटक लाग्ने दुर्घटना कुल दुर्घटनाको २.१ प्रतिशत पुगेको छ । जापानमा बढ्दो विदेशी जनसंख्यासँगै दुर्घटनादर पनि बढेको हो ।
सोहीकारण विदेशीलाई लाइसेन्स दिने नियमलाई कडा बनाउन लागेको हो । जसअनुसार लाइसेन्स परीक्षामा १० वटा प्रश्न राखिदै आएकोमा ५० वटा बनाइनेछ भने उत्तीर्ण हुन ९० प्रतिशत अंक ल्याउनुपर्नेछ ।
यसरी सोधिने प्रश्नहरु चित्रहरुमा आधारित नभएर जापानी ट्राफिक नियमसँग सम्बन्धित हुनेछन् । सडक सुरक्षा सुधार गर्न र सबै चालकको स्तर समान बनाउन पनि परीक्षा प्रणालीमा सुधार गर्न लागिएको जनाइएको छ ।
यसअघि लाइसेन्स अस्थायी बसाेबास वा ठेगानाका आधारमा पनि परीक्षा दिन पाइने गरेकोमा अब जुमिन्हो अनिवार्य गरिने भएको छ । यस्तै ट्रायलमा पनि सामान्य गल्तीमा छुट हुने गरेकोमा अब पूर्ण कडा मूल्यांकन गरिनेछ ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार जापानीले गराउने दुर्घटनादर ९७.९ प्रतिशत छ भने विदेशीले गराउने दुर्घटना २.१ प्रतिशत रहेको छ ।
संसदमै केही सांसदहरूले लाइसेन्स रूपान्तरण प्रक्रिया सहज भएका कारण विदेशीले गराउने दुर्घटना बढेको भन्दै आलोचना गरेका छन् ।
दुर्घटना गराउने विदेशीमा सबैभन्दा बढी कोरियाली नागरिकहरु छन् । दुर्घटना गराउने कुल विदेशीमध्ये दक्षिण कोरिया र उत्तर कोरियाका नागरिकहरू १९.८ प्रतिशत, भियतनामका १२ प्रतिशत र ब्राजिलका ९.७ प्रतिशत रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।






