हिरोशिमा हमलाको ८० वर्ष : विनाशको खरानीबाट विकासको शिखरसम्म

जापानको हिरोशिमामा अमेरिकाले विनाशकारी परमाणु बम खसालेको ८० वर्ष पूरा भएको छ । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानमाथि ६ अगस्ट, सन् १९४५ मा लिटिल ब्वाई नाम गरेको परमाणु बम खसालेको थियो ।

मानव इतिहासमा परमाणु बम प्रयोग भएको यो पहिलो घटना थियो । जसले युद्ध, विज्ञान र मानवताको परिभाषा नै बदल्यो ।

यो हमलाबाट तत्कालै ८० हजारभन्दा बढीको मृत्यु भयो भने केही वर्षसम्म हानिकारक विकिरण र यसबाट क्यान्सरजस्ता घातक रोगसँगै करिब २ लाख मानिसको मृत्यु भएको बताइन्छ ।

त्यो क्षणले लाखौं निर्दोष मानिसको ज्यान मात्रै लिएन, जापानको हिरोशिमालाई खरानीमा परिणत गर्‍यो भने सिंगो मानव सभ्यतालाई झस्कायो ।

जापानको हिरोशिमा र नागासाकीमा भएको हमला इतिहासकै पहिलो र अहिलेसम्म युद्धमा परमाणु हतियार प्रयोग भएको अन्तिम घटना हो ।

यो बम आक्रमणलाई युद्ध अन्त्य गर्ने अमेरिकी रणनीति भएको दाबी गरिएको थियो । त्यसको तीन दिनपछि अर्को बम नागासाकीमा खसालियो ।

यो घटनासँगै अन्ततः १५ अगस्ट, १९४५ मा जापानले आत्मसमर्पण गरेपछि द्वितीय विश्वयुद्ध समाप्त भयो । तर प्रश्न उठ्छ– के त्यस्तो निर्दोष जनतामाथिको सामूहिक संहार अपरिहार्य थियो ?

किनकि जापानमाथि गरेको परमाणु बम हमलामा मारिनेमध्ये ९५ प्रतिशतभन्दा बढी आम निर्दोष जनता थिए । हिरोशिमामा केबल सैन्य रणनीतिको नाममा गरिएको हमला थिएन, यो मानवतामाथिको अपमान पनि थियो ।

हिरोशिमालाई फेरि मेहनती जापानीहरुले पुनर्निर्माण पछि ‘म्यानुफ्याक्चरिङ हब’ का रुपमा विकास गरेका छन् । आज हिरोशिमा भौतिक रुपमा पुनर्निर्माण मात्रै भएको छैन, शान्तिको सन्देश पनि बोकिरहेको छ ।

हिरोशिमा पीस मेमोरियल पार्क, एटोमिक बम डोम, र शान्ति संग्रहालय आज शान्तिप्रेमीहरूको तीर्थस्थलजस्तै बनेका छन् ।
जापानमाथि परमाणु हमलाको ८० वर्ष पुग्दा विश्वमा फेरि परमाणु हतियारको होड बढेको छ ।

अमेरिका, रुससहितका देशसँग हजारौं परमाणु हतियार तयारी अवस्थामा छन् । विश्व शक्तिहरूबीच असहयोग र शक्ति प्रदर्शनको होड तीव्र बनिरहेको छ । हिरोशिमा केबल स्मरण होइन, चेतावनी पनि हो कि यदि इतिहास भुलियो भने, त्यो दोहोरिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?