टोकियोमा परमाणु बम माइक्रोसेफली फोटो प्रदर्शनी

जापानको राजधानी टोकियोमा परमाणु बम माइक्रोसेफलीबाट पीडित मानिसहरुको तस्बिर प्रदर्शन भइरहेको छ ।

परमाणु बमबाट क्षतिग्रस्त बनेको हिरोसिमा र नागासाकी शहरमा केही बालबालिका आफ्नी आमाको गर्भमा रहँदै खतरनाक विकिरणको सम्पर्कमा आएका थिए ।

ति बच्चाहरु असामान्य रुपमा सानो टाउको अर्थात् माइक्रोसेफलीसहित जन्मिएका थिए । जसका कारण उनीहरुमध्ये अक्सरमा बौद्धिक र शारीरिक विकलांगता देखिएको थियो ।

यो प्रदर्शनी किनोकोकाई समूहको स्थापनाको ६०औं वर्षगाँठको अवसरमा शनिबार सुरु भएको हो । जो माइक्रोसेफलीबाट पीडित मानिस र उनीहरुको समर्थन गर्ने एक समूह हो ।

प्रदर्शनमा राखिएका १६ वटा तस्बिर दुई फोटोग्राफर शिगेता मासाहिको र सुगानुमा कियोमीले १९६० देखि ७० को दशकमा खिचेका थिए ।

केही तस्बिरले परमाणु बम माइक्रोसेफलीबाट पीडित मानिसको दैनिक जीवनलाई देखाउँछ । जसमा घरको काम गर्नदेखि खानाका लागि कुर्सीमा बस्न समेत भइरहेका समस्यालाई देखाइएको छ ।

केही तस्बिरमा उनीहरुलाई घरदेखि टाढाको अस्पतालमा देखिन्छ भने परिवारले समेत राहत कार्यका लागि अभियान चलाएको समेत देख्न सकिन्छ ।

परमाणु बम माइक्रोसेफलीबाट पीडित मानिसलाई हिबाकुशा अर्थात् परमाणु बम उत्तरजीवी भनिन्छ । प्रदर्शनीमा राखिएका अधिकांश तस्बिर उनीहरुमाथि भेदभाव वा पूर्वाग्रह पैदा गर्न सक्ने डरका कारण सार्वजनिक गरिएका थिएनन् ।

समूहका वरिष्ठ सदस्य हिराओ नाओमासाले परमाणु बम माइक्रोसेफली अपेक्षाकृत अज्ञात रहेको बताएका छन् । तर मानिसहरुले यसबाट पीडित मानिस र उनीहरुको परिवारको जीवनको एक झलक देखेर परमाणु हतियारको प्रभावबारे बुझ्न सकून् भन्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको जनाएका छन् ।

यो प्रदर्शनी टोकियोको नेरिमास्थित ग्यालरी फुरुतोमा बुधबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?