
भीषण गर्मी जारी रहँदा जापानमा लगातार तेस्रो दिन पनि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।
अत्यधिक गर्मीका कारण कान्तोदेखि क्युसु क्षेत्रसम्मका केही इलाका प्रभावित हुने अनुमान मौसम विभागले गरेको छ । जापान मौसम विज्ञान एजेन्सीका अनसार मिए प्रिफेक्चरको कुवाना शहरको तापक्रम ४०.४ डिग्री सेल्सियससम्म पुगेको छ ।
जापानमा तापक्रम ४० डिग्रीमाथि मापन गरिएको यो लगातार तेस्रो दिन हो । यसअघि बुधबार ह्योगो प्रिफेक्चरमा अत्यधिक तापक्रमका कारण लु लाग्ने चेतावनी जारी गरिएको थियो ।
मौसम अधिकारीहरुले एसी चलाउन, नुनपानी पर्याप्त मात्रामा पिउन र बाहिर खुला स्थानमा काम गर्ने समयमा बेलाबेला विश्राम गर्न समेत आग्रह गरेका छन् ।






