टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १९औं महाधिवेशनका सम्पूर्ण क्रियाकलाप रोक्न माग गरिएको छ। महाधिवेशनको अन्तिम चरणमा गम्भीर विवाद उत्पन्न भएपछि गुरुङ समाज जापानले उक्त प्रक्रिया रोक्न माग गरेको हो।
विधानअनुसार उम्मेदवारी दर्ता गराए पनि नेफिन जापानको निर्वाचन समितिले गुरुङ समाज जापानको उम्मेदवारी दर्ता अस्वीकार गरेको भन्दै समाजले कडा आपत्ति जनाएको छ।
नेफिन जापानमा पछिल्ला दिनमा तमु धीं जापान र गुरुङ समाज जापानबीचको विवाद झन् चर्किएको छ। गुरुङ समाज जापानले नेपालबाट आधिकारिक मान्यता प्राप्त गरेपछि, नेफिन जापानको सदस्य संस्थाको स्पष्ट टुंगो लगाएर मात्र महाधिवेशनका प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
समाजले यो कार्य नेफिनको विधान, नियमावली तथा सम्पूर्ण आदिवासी जनजाति आन्दोलनकै उपहास भएको टिप्पणी गरेको छ। गुरुङ समाज जापानका अध्यक्ष युवराज गुरुङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, समाजले नेफिन जापानको अध्यक्ष, सचिव र सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिन सम्पूर्ण कानुनी प्रावधान पालना गर्दै आवश्यक दस्तुरसहित विधिवत् रूपमा मनोनयन दर्ता गराएको थियो। तर भोलिपल्ट निर्वाचन समितिले उम्मेदवारी अस्वीकृत गरेको लिखित जानकारी दिएको जनाइएको छ।
समाजले आफू तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, नेपालको आधिकारिक जापानी शाखा भएको र उक्त मातृसंस्था नेफिन नेपालको विधानको अनुसूची ६ को ७ नम्बरमा उल्लेखित सदस्य संस्था भएको प्रस्ट पारेको छ। साथै, नेफिन नेपालको प्रवासी संगठनसम्बन्धी नियमावली २०७९ को दफा ४ को उपदफा (क) मा विदेशी महासंघका हकमा नेपालस्थित आदिवासी जनजाति महासंघमा आबद्ध अनुसूची ७ मा उल्लिखित जातीय मातृसंस्थाबाट आधिकारिकता प्राप्त संस्थालाई योग्य ठहरिने संवैधानिक प्रावधान उल्लेख गरिएको भन्दै आफूहरू पूर्णतः योग्य रहेको स्पष्ट गरेको छ।
नेफिन जापानले उम्मेदवारी अस्वीकृत गर्नु नेफिनको विधान २०६७ र त्यस अन्तर्गत बनेको नियमावलीविपरीत रहेको समाजको ठहर छ। विज्ञप्तिमा भनिएको छ, ‘तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को आधिकारिक जापानी शाखाका रूपमा गुरुङ समाज जापान नै हो भन्ने प्रमाणसहितका कागजातहरू नेफिन जापान सचिवालय र अध्यक्षलाई पटक–पटक जानकारी गराइसकेका छौं।’
नेफिन जापानको यो कदमले मातृसंस्था नेफिन केन्द्रलाई अपमान गरेको र सम्पूर्ण आदिवासी जनजाति आन्दोलनमाथि नै प्रहार भएको समाजको बुझाइ छ। समाजले प्रश्न उठाएको छ, ‘नेपाल आदिवासी जनजाति महासंघ जापानमा आन्दोलन विरोधीहरूको कब्जा त भएको छैन ? नेफिन जापानलाई गलत मनसाय र उद्देश्यमा प्रयोग त गरिएको छैन ?’
समाजले १९औं महाधिवेशनका सम्पूर्ण गतिविधिहरू तत्काल रोक्न, आफ्नो उम्मेदवारी स्वीकार गर्न, र निर्वाचनमा सहभागी हुन पाउने वातावरण सुनिश्चित गर्न जोडदार माग गरेको छ।
यसबाहेक, नेपाल संघीय परिषद्ले पनि नेफिन जापान शाखालाई प्रवासी संगठनको दफा ५ को उपदफा (ख) अनुसार विवाद समाधान नगरी महाधिवेशन गरेमा वैधानिकता नदिने चेतावनीसहित पत्र पठाएको जानकारी गराइएको छ।











