
जापानमा गत सातादेखि सुरु भएको खानुन आँधीका कारण जनजीवन प्रभावित बनिरहेको छ ।
खानुन आँधी जापानको दक्षिण पश्चिम सहर ओकिनावाको मुख्य टापु र कागोशिमा प्रान्तको आमामी क्षेत्रमा पुनः बढ्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार दिउँसोदेखि आँधीको प्रभाव बढेको हो । आँधी कोगोशिमाको तोकुनोशिमा टापुको पश्चिमबाट प्रतिघण्टा १०० किलोमिटर टाढाबाट समुद्रमाथिबाट पूर्वतिर बढिरहेको छ ।
आँधीको केन्द्रनजिक शनिबार १०८ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्नुका साथै १६२ किलोमिटर प्रतिघण्टासम्मको गतिमा पुगेको थियो ।
आँधी कायमै रहेकाले हावा, समुद्रको ठूलो छाल र तुफानका कारण पानीको सतह बढ्ने भएकाले सचेत रहन सूचना जारी गरिएको छ ।
ओकिनावा र आमामीमा आजसम्म तथा दक्षिण क्युशुमा अझै भारी वर्षाको सम्भावना रहेको एजेन्सीले जनाएको छ ।







