
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन् ।
थापा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
सभामुखको हस्ताक्षर प्रयोग गरी मुख्यमन्त्री भएको २२ दिनमै सर्वोच्चको आदेशबाट पदमुक्त भएका थापा ६ दिनपछि पुनः मुख्यमन्त्री बनेका हुन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यसअघि थापाले संविधानको धारा १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा मुख्यमन्त्री दाबी गरेका थिए ।
थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेका छन् । उनलाई समर्थन गर्नका लागि माओवादीबाट सभामुख बनेका बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए ।






