
एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ ।
आइतबार राजस्वको टोलीले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पक्राउ गरेको हो ।
यस्तै भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि टोलीले पक्राउ गरेको छ ।
विभागले यसअघि नै सुन तस्करीमा संलग्न भएको आरोपमा एक चिनियाँ र एक भारतीय नागरिकसहित १० जनालाई नियन्त्रणमा लिएको थियो ।
गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शु’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर विमानस्थलबाट बाहिरिने क्रममा सिनामंगलबाट राजस्वको टोलीले बरामद गरेको थियो ।







