यस्तो छ एनआरएनए जापानको निर्वाचन कार्यतालिका (सम्पूर्ण विवरणसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

डम्बरराज पौडेल प्रमुख तथा आनन्द कोइराला र डम्बर पुन सदस्य रहेको निर्वाचन समितिले एनआरएनए जापानको ११औं राष्ट्रिय अधिवेसनको निर्वाचन कार्यतालिका सोमबार प्रकाशित गरेको हो ।

कार्यतालिका अनुसार सोमबारराति १० बजेसम्म अन्तिम मतदाता नामावली समितिलाई उपलब्ध गराएपछि मंगलबार ३ बजेसम्म मतदाता नामावली र विवरण प्रकाशन गरिनेछ ।

मंगलबार नै मतदाता नामावलीमा दाबी विरोध र संशोधनका लागि समय दिइएको छ भने बुधबार अर्थात् जुलाई १९ मा अन्तिम नामावली इन्टरनेटमार्फत प्रकाशित गरिनेछ ।

१९ जुलाईमा नै निर्वाचन समितिले निर्वाचन आचारसंहिता तथा नियमावली प्रकाशन र उम्मेदवारी आव्हान गर्नेछ ।

२३ जुलाईमा उम्मेदवारी दर्ता फारम र उम्मेदवारी दर्ताका लागि आवश्यक शुल्क जम्मा गरेको रसिदको एक प्रति निर्वाचन समितिलाई पठाउनुपर्नेछ । २५ जुलाई दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने समितिले जनाएको छ ।

सोही दिन साँझ ५ बजेदेखि २६ जुलाईको साँझ ५ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध, संशोधन प्रस्ताव र उम्मेदवारी फिर्ता गर्न सकिनेछ । २६ जुलाई राति १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

२७ जुलाईमा मतदान सिस्टमको जाँचका लागि ट्रायल मतदान, सोही दिनदेखि उम्मेदवारीको प्रचारप्रसार सुरु गर्न पाइनेछ । २९ जुलाईको १० बजेदेखि शून्य समय सुरु हुनेछ ।

एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषद् जापानको अधिवेशन २९ जुलाईमा टोकियोमा हुनेछ ।

३० जुलाईका दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म अलनाइनमार्फत मतदान हुनेछ । निर्वाचनको औपचारिक परिणाम सोही दिन राति ९ बजे इन्टरनेटमार्फत नै औपचारिक रुपमा घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

यो अधिवेशनबाट एनआरएनए जापानको कार्यसमिति र एनआरएनए आईसीसीका सदस्यहरु चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?