
उत्तर कोरियाली अधिकारीहरुले बुधबार परीक्षण गरेको मिसाइल अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल भएको र यसले केही रेकर्ड तोडेको बताएका छन् ।
स्मरण रहोस् कि उत्तर कोरियाले अमेरिकामाथि जासुसी गतिविधि गरेको आरोप लगाउँदै यो साता आश्चर्यजनक परिणाम आउने चेतावनी दिएको थियो ।
उत्तर कोरियाको समाचार एजेन्सी केसिएनएले बिहीबार यो प्रक्षेपणको प्रशारण गरेको थियो ।
जसमा यो मिसाइल विकसित ह्वासोङ्ग–१८ भएको पुष्टि गरिएको छ । जसमा ठोस–इन्धन प्रविधिको प्रयोग गरिएको छ ।
प्योङयाङले अप्रिलमा मिसाइलको पहिलो परीक्षण गरेको थियो । ठोस इन्धन मिसाइलको प्रक्षेपण पारम्परिक मिसाइलको तुलनामा तीव्र रुपमा गर्न सकिन्छ र प्रक्षेपणको संकेत पत्ता लगाउन पनि पनि कठिन हुन्छ ।
केसिएनएका अनुसार मिसाइलले दुरी, उचाई र उडान समयको रेकर्ड तोडेको छ । यसले लगभग १ हजार किलोमिटरको दुरी तय गदाए ६ हजार ६ सय किलोमिटर उचाईमा पुग्यो भने ७५ मिनेटसम्म उडेको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उनले परीक्षणको अवलोकन गरेका थिए । केसिएनले यो प्रक्षेपण अमेरिका, दक्षिण कोरिया र जापानबीच बढ्दो सहयोगको प्रतिक्रिया भएको जनाएको छ ।
जापानका रक्षा मन्त्रालयका अधिकारीहरुले सही परिस्थितिमा यो मिसाइलको मारक क्षमता १५ हजार किलोमिटर भन्दा बढी हुने उल्लेख गरेका छन् । यसको अर्थ उत्तर कोरियाले यो मिसाइलबाट अमेरिकाका जुनसुकै स्थानमा निशाना बनाउन सक्छ ।







