
जापान अन्तरिक्ष अन्वेषण एजेन्सी (जाक्सा) ले लुनर ल्याण्डर आगामी महिना एच२ए रकेटबाट प्रक्षेपण गर्ने जनाएको छ ।
जाक्साले मंगलबार चन्द्रमाको अनुसन्धानका लागि स्मार्ट ल्याण्डर अर्थात स्लिम नामको यानको प्रक्षेपणको घोषणा गरेको हो ।
यो परियोजना अनुसार पहिलो पटक चन्द्रमामा आफ्नो यान उतार्ने जापानको योजना छ । यो यानले चन्द्रमाका चट्टानको जाँचका साथै सटिक अवतरण प्रविधिको पनि परीक्षण गर्नेछ ।
यदि यो परियोजना सफल भएमा जापान चन्द्रमामा यान उतार्ने चौथो देश बन्नेछ ।
जाँचबाट प्राप्त डाटाको उपयोग अमेरिका नेतृत्वको आर्टेमिस कार्यक्रमका लागि गरिनेछ । यो कार्यक्रमको उद्देश्य अन्तरिक्ष यात्रीलाई अन्वेषणका लागि चन्द्रमा पठाउनु हो ।
एच२ए यान स्थानीय समयअनुसार २६ अगस्ट बिहान ९ः३४ बजे दक्षिण–पश्चिमी जापानको तानेगासिगा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिनेछ ।






