संसदमा प्रचण्डको जवाफ– भावनामा आएँ र भने, सबै कुरा सकियो त ?

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रितम सिंहको किताब विमोचनका क्रममा आफ्नो पारवारिक सम्बन्धका कारण भावनामा आएर सरकार बनाउन दिल्ली र नेपाली नेतासँग छलफलको विषयमा अभिव्यक्ति दिएको स्पष्टीकरण दिएका छन् ।

उनले आफ्नो अभिव्यक्ति पदीय हैसियतसँग मेल नखाएको भन्दै आत्मसमीक्षा गर्ने पनि बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो नबोलेको भए पनि हुने तर भावना आएर त्यस्तो धारणा राख्न पुगेको बताएका हुन् ।

उनले आफूले भावनात्मक रुपमा भनेको कुरामा स्पष्टीकरणको मौका समेत नदिई राजीनामा मागिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

आफूले गम्भीर प्रश्न उठेपछि यथार्थ के हो भनेर सदनमा स्पष्टीकरणको अवसर दिनुपर्छ भनेर माग गर्दा विपक्षीको अवरोधले स्पष्टीकरण दिन नपाएको बताए ।

उनले भने, ‘राजीनामा नआएसम्म सदन चल्न दिइँदैन भनियो । नैतिकताको प्रश्न उठाउन सकिन्छ, राजीनामा दिनुपर्छ भन्न सकिन्छ । तर मेरो कमजोरी कहाँनेरी हो मैले भन्न पाउनुपर्दैन ?’

उनले २०६८/२०६९ सालमा आफ्नी छोरी ज्ञानु दाहाल क्यान्सरबाट पीडित भएर जीवन मरणको दोसाँधमा रहेका बेला छोरी भेट्न दिल्ली गएका बेला सिंहले ‘प्रधानमन्त्री त तपाईं नै हुनुपर्ने हो’ भन्दै भावनात्मक रूपमा कुरा उठाएको र आफूले धन्यवाद दिएको उल्लेख गरे ।

‘मैले मनमा आयो भने । नभनेको भए पनि हुन्थ्यो । प्रधानमन्त्रीको हैसियतमा मैले त्यो कुरा नबोल्नु पथ्र्यो । म ज्ञानुको बुवा बन्न पुगेँ र प्रितमको सदाशयताप्रति धन्यवाद भने । के एउटै भावनात्मक अभिव्यक्तिले मेरो सबै सकियो त ?’, उनले प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मेरो प्रीतम सिंहसँग कुनै राजनीतिक सम्बन्ध छैन । उनी शक्तिकेन्द्र होइनन् । सार्वजनिक र निजी कार्यक्रममा फरक रूपमा प्रस्तुत हुन धेरै गाह्रो पनि मलाई पर्छ । त्यो मेरो कमजोरी पनि हो । सबल पक्ष पनि हुनसक्छ । म मनले बोल्छु । मान्छेको जीन, विशेषता जसले हामीलाई अलगअलग बनाएको छ । म दिमाग र मन दुवैले बोल्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?