फुकुशिमाको प्रशोधित पानी समुद्रमा फाल्ने निर्णयमा जापान अडिग

जापान सरकारले यो गर्मीको सिजनमा नै क्षतिग्रस्त फुकुशिमा दाइइचि परमाणु केन्द्रमा भण्डारण गरिएको प्रशोधित पानी समुद्रमा पठाउने जनाएको छ ।

जापान सरकारका प्रवक्ता मात्सुनो हिरोकाजुले पानी समुद्रमा पठाउने निर्णयमा सरकार दृढ रहेको बताए ।

सरकारले समग्र रुपमा विचार गरेर पानी निष्काशनका लागि निश्चित मिति तय गर्ने उनले जानकारी दिए । जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजुले पानी निष्काशनको समयमा सम्भावित बदलाबलाई लिएर सत्ताधारी गठबन्धनभित्र उठेको मागको जवाफ दिँदै यो टिप्पणी गरेका हुन् ।

मुख्य सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको सत्ता गठबन्धनमा रहेको कोमेइतोका प्रमुख प्रतिनिधि यामागुची नात्सुओले समुद्रमा बढी मानिसहरु जाने गर्मीको मौसममा फुकुशिमाको पानी फाल्न नहुने बताएका थिए । उनले अनावश्यक चिन्ता पैदा गर्नबाट बच्नुपर्नेमा जोड दिएका थिए ।

यो गर्मीको समयमा पानी निष्काशनका विषयमा पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, – ‘यसमा कुनै बदलाब हुँदैन ।’

मात्सुनोले सुरक्षा सुनिश्चित गर्नका लागि शुद्ध पानी मिश्रित प्रशोधित पानीलाई कडा नियमसहित समुद्रमा छाडिने बताए ।

सरकारले सुरक्षा सुनिश्चित गर्नका लागि टेलिभिजन र अनलाइनका माध्यमबाट विज्ञापन गरेर सचेतना फैलाइरहेको पनि उनले बताए ।

परमाणु ऊर्जा केन्द्रमा परमाणु इन्धनलाई चिसो बनाउनका लागि प्रयोग गरिएको पानी फुकुशिमा संयन्त्रमा लगातार भरिइरहेको छ । यसमा वर्षा र भूमिगत पानी पनि मिसिने गर्छ ।

यो पानीबाट अधिकांश रेडियोधर्मी पदार्थ हटाइएको छ । तर ट्रिटियमको केही मात्रा अझै पनि रहेको छ ।

ट्रिटियमको स्तर विश्व स्वास्थ्य संगठनको पिउने पानीको सुरक्षा मानकका सातौं हिस्सासम्म लैजानका लागि जापान सरकारले शुद्ध पानी मिसाएर समुद्रमा फाल्न चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?