दक्षिण कोरियालाई जापानले व्यापारको ‘सेतो सूची’ मा राख्ने

जापानले दक्षिण कोरियालाई आगामी जुलाईदेखि विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनः राख्ने भएको छ ।

दोस्रो विश्वयुद्धका क्रममा भएको श्रम शोषणको विवादबीच जापानले सन् २०१९ मा सो सूचीबाट हटाउने निर्णय गरेको थियो ।

आफ्नो व्यापारका लागि विश्वसनीय साझेदारको सूचीमा राख्ने निर्णय छिमेकी देशबीचको सम्बन्ध सुधारको अर्को कदमका रुपमा हेरिएको छ ।

दक्षिण कोरियासँगको व्यापारले जुलाई २१ देखि फास्ट ट्र्याक स्वीकृति प्रक्रियाको उपयोग गर्न सक्ने जापानको व्यापार मन्त्रालयले जानकारी दिएको छ ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानले गरेको क्रुर कब्जा, यातना तथा शोषणका कारण जापान र कोरियाबीचको सम्बन्ध चिसो रहँदै आएको छ ।

सन् २०१८ मा दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी फर्महरूलाई जबरजस्ती श्रमका युद्धका पीडितहरूलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

गत वर्ष दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सत्तामा आएदेखि उनले उत्तर कोरियाको धम्की र आक्रामक गतिविधिको सामना गर्न जापानसँगको सम्बन्धलाई द्रुत गतिमा सुदृढ पार्ने कोशिस सुरु गरेका हुन् ।

गत मार्चमा युनले टोकियोबाट प्रत्यक्ष संलग्नताबिना पीडितहरूलाई क्षतिपूर्ति दिने योजनाको सुरु गरेको थियो । जसको दक्षिण कोरियामा विरोध भएको थियो । तर जापानसँगको सम्बन्ध सुधारमा यसले सहयोग गरेको ठानिन्छ ।

त्यसबेलादेखि युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच अप्रिलमा टोकियो र गत महिना सोलमा उच्चस्तरीय वार्ता भएको थियो । जसमा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने सहमति भएको थियो ।

जापानले पनि यस वर्ष दक्षिण कोरियाको लागि निर्धारित अर्धचालकहरूको लागि आवश्यक सामग्री निर्यातमा लिएको नियन्त्राणत्मक नीति हटाएको छ ।

त्यसैगरी सोलले पनि जापानविरुद्ध डब्लुटिओमा गर्दै आएको गुनासो अन्त्य गरेको र सैन्य गुप्तचर–साझेदारी सम्झौतालाई सामान्य बनाउने दिशामा अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?