साउदीस्थित अमेरिकी वाणिज्य दूतावासबाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।

कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुकसहित आएका थिए । उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा गोली चलेको थियो ।

सो गोलीबारीमा बन्दुकधारी र नेपाली सुरक्षागार्डको मृत्यु भएको हो । मृत्यु भएका नेपाली सुरक्षागार्डको नाम ठेगाना खुलेको छैन ।
साउदी प्रेस एजेन्सी (एसपीए) ले पनि घटनामा अमेरिकी वाणिज्य दूतावासको सुरक्षामा खटिएका नेपालीको मृत्यु भएको उल्लेख गरेको छ ।

यो घटनामा अमेरिकी नागरिकलाई भने केही नभएको र घटनाको अनुसन्धान गरिरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावासमा सन् २०१६ मा पनि एक जनाले आत्मघाती बम विस्फोट गराउँदा आत्मघाती आक्रमणकारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?