
दोस्रो विश्वयुद्धको अन्तिम चरणमा भएको ओकिनावा लडाईका क्रममा रहेका अमेरिकी नौसैनिकबीच भएको कुराकानीको अडियो फेला परेको एनएचकेले जनाएको छ ।
३० घन्टाभन्दा लामो यो सम्पादन नगरिएको टेपबाट युद्धको विभीषिका थाहा हुने पनि उल्लेख गरिएको छ ।
एनएचकेले यो टेप अमेरिकाको पूर्वी राज्य भर्जिनियास्थित संसदीय पुस्तकालयको एक संरक्षण केन्द्रबाट प्राप्त गरेको हो । एक नौसैनिकले नै यो रेकर्ड गरेका थिए । यसको उद्देश्य अमेरिकामा रहेका आफ्ना परिवारसम्म सैनिकको आवाज पुर्याउनु थियो ।
मार्च १९४५ मा ओकिनावामा अमेरिकी सेना पुग्नुभन्दा ठीक अघि यो रेकर्डिङ सुरु गरिएको थियो । अमेरिकी सेना पुगेको केही समयमा नै बनाइएको एक टेपमा ओकिनावामा ठूलाठूला तोपका आवाज गर्जिएको सुनिन्छ ।
ओकिनावाको मुख्य द्विपको उत्तरी भागमा रहेको मोतोबु प्रायद्वीपको भनिएको लडाईमा ‘बाल बाल बचियो त्यो रेकर्डिङ जीपबाट टाढा जाओ र पहाडको छेउतिर आओ’ भनेको सुनिन्छ ।
जंगलमा जापानी स्नाइपरको निशाना बनिरहेका अमेरिकी नौसैनिकका लागि यो कठिन समय थियो ।
रियुक्यु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा ओकिनावा लडाईका विशेषज्ञ होसाका हिरोशीले यसलाई महत्वपूर्ण खोज भएको र यसले युद्धको भयावह अवस्था बनाउने उल्लेख गरेका छन् ।
उनले आफूहरुजस्ता विशेषज्ञलाई पनि अमेरिकी नौसैनिकको यस्तो अडियो रहेको जानकारी नभएको बताएका छन् ।







