
जापानले समुद्री क्षेत्रमा चिनियाँ खतराको सामना गर्न एन्टीशिप मिसाइल निर्माण गर्ने भएको छ । यो मिसाइल निर्माणको जिम्मा रक्षा मन्त्रालयले कावासाकी हेभी इन्डस्ट्रिजलाई दिएको छ ।
जापानले करिब २५७ मिलियन डलर खर्च गरेर मिसाइल निर्माण गर्न लागेको हो । यो मिसाइलमा टर्बोफ्यान इन्जिन र मोड्युलर वारहेड हुनेछ भने जमिनमा आक्रमण, इलेक्ट्रोनिक युद्धजस्ता प्रयोजनामा प्रयोग गर्न सकिनेछ ।
यो मिसाइलमा क्रूज चरणको समयमा, ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र इनर्टियल नेभिगेसन प्रणाली (आईएनएस) सँग सुसज्जित हुनेछ र टर्मिनल चरणमा इन्फ्रारेड (आईआर) वा रेडियो फ्रिक्वेन्सी (आरएफ) मार्फत आफ्नो लक्ष्यमा पुग्न सक्ने क्षमता हुनेछ ।
जापानको आइल्याण्ड डिफेन्स एन्टी–शिप मिसाइलको लम्बाइ ६ देखि १० मिटर हुनेछ भने उच्च सबसोनिक म्याच ०.८ को गतिमा उड्नेछ ।
चीन र उत्तर कोरियाबाट बढ्दो क्षेप्यास्त्र खतराको सामना गर्न जापानले आफ्नो लामो दूरीको प्रहार क्षमता बढाउन लागेको दाबी गरिएको छ ।
चीनसँग १९०० जमिनबाट प्रक्षेपण गर्न सकिने मध्यम दुरीका ब्यालिस्टिक मिसाइल, जापानसम्म हान्नसक्ने ३०० मध्यम दुरीका क्रुज मिसाइलहरू छन् भने उत्तर कोरियाले पनि आफ्नो मिसाइल विकास कार्यक्रम तीव्र रुपमा अघि बढाएको छ ।







