
जापानको आप्रवासन केन्द्रमा हिरासतमा मृत्यु भएकी श्रीलंकाली महिलाको भिडियोको केही अंश पहिलो पटक अदालतमा देखाइएको छ ।
सन् २०२१ मार्चमा जापानको नागोयाको एक केन्द्रमा विश्मा सन्दामालीको मृत्यु भएको थियो । भिसा अवधि सकिएपछि पनि जापानमै बसेको आरोपमा उनलाई हिरासतमा लिइएको थियो ।
हिरासतमा रहेका बेला उनले लगातार खराब स्वास्थ्य रहेको जानकारी दिएकी थिइन् । उनको परिवारले क्षतिपूर्तिका लागि मुद्दा दायर गरेको थियो ।
यसअघि सरकारले सीसीटीभी क्यामेराबाट लिइएका विश्माको ५ घन्टाको भिडियो दिएको थियो । नागोया डिस्ट्रिक्ट कोर्टमा बुधबार पहिलो पटक भिडियो देखाइएको हो । उक्त भिडियोमा मुद्दाका लागि महत्वपूर्ण हिस्सा थियो ।
मृत्युभन्दा ११ दिनअघि २३ फेब्रुअरी, २०२१ मा विश्माले कर्मचारीसँग सहयोग मागेकी थिइन् । सो क्रममा उनले बान्ता समेत गरेकी थिइन् । यसपछि उनले आफूलाई ड्रिप चढाउन इशाराले भनेकी थिइन् ।
जवाफमा कर्मचारीहरुले आफूहरुले यहाँ गर्न नसक्ने र आफूले डाक्टर नभएको बताएका थिए । आप्रवासन अधिकारीहरुले रिपोर्टमा विश्मा र केन्द्रका कर्मचारीबीच भाषाको पनि समस्या रहेको बताएका छन् ।
विश्माको परिवारले उनले आईभी ड्रिप मागेको स्पष्ट भएको बताएका छन । तर उनको आग्रहलाई कसैले पनि वास्ता गरेनन् ।
सरकारले भने उनको कुरा कर्मचारीले बुझ्न नसकेको तर्क गरेको छ । यो भिडियो १२ जुलाईमा पनि अदालतमा देखाइनेछ ।







