उत्तर कोरियाले हानेका दुई क्षेप्यास्त्र जापानी क्षेत्रमा खसे

उत्तर कोरियाले जापान नजिकै विशेष आर्थिक क्षेत्रभित्र दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र हानेको छ ।

जापानी रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाले प्रहार गरेका क्षेप्यास्त्र जापानी क्षेत्रमा खसेका हुन् ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल परीक्षणको पुष्टि गरेका छन् । उत्तर कोरियाले साँझ ७ बजे पूर्वतर्फ छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।

जापानका उपरक्षामन्त्री ओनोदा किमीले उत्तर कोरियाले पश्चिमी तट नजिकैबाट ७ बजेर २४ र ७ बजेर ३६ मिनेटमा लगातार ब्यालिस्टिक मिसाइल हानेको थियो ।

उत्तरले प्रहार गरेका मिसाइल लगभग ८५० र ९०० किलोमिटर उडेका थिए । करिब ११ मिनेट उडेका मिसाइलले ५० किलोमिटर माथिको यात्रा तय गरेका थिए ।

मिसाइलहरु इशिकावा प्रिफेक्चरको हेगुराजीमा टापुबाट २५० किलोमिटर टाडा जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेका थिए ।

मिसाइलहरु अनियमित दिशा परिवर्तन गर्दै उडेको अनुमान गरिएको छ । यसरी दिशा परिवर्तन गर्दै उड्ने मिसाइललाई मिसाइल प्रतिरक्षा प्रणालीले खसाउन समेत मुस्किल हुन्छ ।

यसअघि गत १८ फेब्रुअरीमा उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?