
जापानले उत्तर कोरियाको आणविक कार्यक्रमलाई लक्षित गर्दै मिसाइल रक्षा तयारी कायम राख्ने निर्णय गरेको छ ।
उत्तर कोरियाले जापानलाई सूचना दिएरै मेको अन्त्यमा घोषणा गरेको मिसाइल परीक्षण समयावधि शनिबार मध्यराति सकिएको छ । तर जापानले मिसाइल रक्षा तयारी जारी राख्ने भएको हो ।
रक्षामन्त्री हामादा यासुकाजुको निर्देशन अनुसार जापानी आत्मरक्षा बलले जापानी क्षेत्रमा खस्ने आशंका गरिएका कुनै पनि ब्यालिस्टिक मिसाइललाई नष्ट गर्नका लागि तयार रहने भएको हो ।
हामादाले २९ मेमा नै यो निर्देशन दिएका थिए । यसअघि उत्तर कोरियाले यो समयभित्र कुनै पनि बेला भूउपग्रह प्रक्षेपण गर्नसक्ने जानकारी जापानलाई दिएको थियो ।
रक्षामन्त्रीको निर्देशन पनि आइतबार समाप्त हुदै थियो । तर हामादाले तत्काल यसलाई लम्ब्याउन निर्देशन दिएका हुन् ।
समयावधि बढाउने निर्देशन दिएपछि समुद्री आत्मरक्षा बलका ईजीएस विध्वंसक जापान नजिकका जलक्षेत्रमा तैनाथ रहनेछन् । यी जलपोतहरु उन्नत राडार प्रणाली र एसएम३ इन्टरसेप्टर मिसाइलबाट लैस छन् ।







