जापानमा लगातार सातौं वर्ष प्रजनन क्षमतादर गिरावट

जापानमा लगातार सातौं वर्ष प्रजनन क्षमतादरमा गिरावट आएको छ । जापानको सरकारी तथ्यांकअनुसार सन् २०२२ मा पनि प्रजनन क्षमतादरमा गिरावट देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले सन् २०२२ को अनुमानित जनसांख्यिकीय आँकडा जारी गरेको हो ।

मन्त्रालयका अनुसार गत वर्ष एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको औसत संख्या १.२६ थियो । जुन सन् २०२१ को तुलनामा ०.०५ अंक कम हो ।

सन् १९४७ मा जनसांख्यिकीय रेकर्ड राख्न सुरु गरेपछि सन् २००५ को १.२६ प्रजनन क्षमता सबैभन्दा कम थियो । तर पछिल्लो वर्षको तथ्यांक त्यो भन्दा पनि कम भएको हो ।

४७ प्रिफेक्चरमध्ये टोकियोको प्रजनन क्षमतादर सबैभन्दा कम १.०४ थियो । १.०९ अंकसहित मियागी दोस्रो र १.१२ अंकका साथ होक्काइदो तेस्रो स्थानमा छन् ।

सबैभन्दा बढी ओकिनावामा प्रजनन क्षमतादर १.७०, मियाजाकीको १.६३ र तोत्तोरीको १.६० छ ।

सन् २०२२ मा जन्मिएका शिशुको संख्या ७ लाख ७० हजार ७४७ थियो । जुन एक वर्षअघिको तुलनामा ४० हजार ८७५ ले कम हो ।

सन् १८९९ मा जनसांख्यिकीय रेकर्ड राख्न सुरु गरेपछिको यो सबैभन्दा कम संख्या हो । जापानमा पहिलोपटक एक वर्षमा ८ लाख भन्दा कम बच्चा जन्मिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?