
जापानको सुदूर पूर्वी प्रिफेक्चर होक्काइदोमा पाराबैजनी किरणमा चम्किरहेको एउटा नयाँ प्रकारको खनिज फेला परेको छ ।
टोकियो स्थित सागामी रसायन शोध संस्थानका सदस्यसहित अनुसन्धानकर्ताको एक समूह र ओसाका विश्वविद्यालयले यो यो खनिज पत्ता लगाएका हुन् ।
यो एक प्रकारको जैविक खनिज हो । जसमा जीवजन्तुमा पाइने कार्बन र हाइड्रोजनजस्तो तत्व छन् । प्राकृतिक प्रकाशमा यो हल्का पहेँलो रंगको देखिन्छ । तर पाराबैजनी किरणमा यसले गाडा पहेँलो या पहेँलो हरियो प्रकाश छाड्छ ।
खोजी समूहको विस्तृत विश्लेषणबाट यो बेन्जोपाइरिन नामक पदार्थबाट बनेको एक नयाँ प्रकारको खनिज भएको पुष्टि भएको छ । बेन्जोपाइरिन पदार्थ पेट्रोलियम पदार्थमा सुक्ष्म रुपमा पाइन्छ ।
अन्तर्राष्ट्रिय खनिज विज्ञान संगठनले जनवरीमा यो खनिजको वैज्ञानिक नाम ‘होक्काइदोआउट’ राखेको थियो ।
जमिन मुनि रहेको जीवका अवशेष ज्वालामुखीको तापबाट अत्यधिक तातेपछि होक्काइदोआउट बन्ने अनुमान गरिएको छ ।
अनुसन्धान समूहले यसको खोज तेल बन्ने प्रक्रियासँग सम्बन्धित रहेको हुनसक्ने विश्वास गरेका छन् ।







