जापानमा मूल्यवृद्धि ३ प्रतिशत पुग्ने अनुमान, मौद्रिक उदारीकरण नीति कायम रहने

बैंक अफ जापानका नीति निर्माणकर्ता अधिकारीहरुको बैठकले मौद्रिक उदारीकरण कार्यक्रम तत्काल परिवर्तन नगर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको नीति निर्धारकहरुको बैठकले सो निर्णय गरेको हो ।

यसले अल्पावधि ब्याजदरलाई ऋणात्मक बनाइराख्नेछ । यसका साथै ०.५ प्रतिशत अंकको माथिल्लो सीमाका साथ दीर्घावधि ब्याजदरलाई शून्यको आसपास कायम राख्नका लागि सरकारी बन्धपत्रको खरिद जारी राखिनेछ ।

गत महिना बैंकले १० वर्षीय बन्धपत्रको लाभांशको दायरा बढाएको थियो । दायरा बढाएपछि केन्द्रीय बैंकले आफ्नो बैठकबाट माथिल्लो सीमा पुनः हटाउन सक्ने अट्कल गरिएको थियो ।

तर नीति निर्माता अधिकारीहरु डिसेम्बरमा गरिएको बदलाबको प्रभाव मूल्यांकन गरेर मात्रै नयाँ निर्णय गर्ने मुडमा पुगेको अनुमान गरिएको छ । यसैबीच बैंकले मार्चमा समाप्त हुन लागेको वर्तमान आर्थिक वर्षको मुद्रास्फीति अनुमान बढाएको छ ।

बैंकले महंगी बढेर ३ प्रतिशत हुनसक्ने अनुमान गरेको छ । जबकि अक्टोबरमा २.९ प्रतिशत रहने अनुमान गरेको थियो ।
यो उपभोक्ता मूल्य सूचांकको औसत अनुमान हो । यसमा ताजा खाद्य उत्पादन सामेल गरिएको हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?